समाज

झापा आन्दोलनका योद्धा तामाङको घर बन्ने भो !

By admin

April 29, 2021

अर्जुनधारा । अर्जुनधारा १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङले पक्की घर पाउने भएका छन् । संचार माध्यममा तामाङ बस्ने घरको तस्वीर र उनले भोगेको राजनीतिक पीडासहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन् ।

संचार माध्यममा तामाङको कहालीलाग्दो राजनीतिक भोगाई सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाले उनको निर्माण हुने घरका लागि ३ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख हरिकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाका लागि ३ लाख दिने बताए ।

यस्तै झापाको चारपानेस्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ । सहारा नेपालको एक टोलीले बुधबार तामाङको घर र उनको अवस्थाका बारेमा जानकारी लियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा गम्भीर चासो व्यक्त गरेको छ । स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर संचारमाध्यममा आएका कुराको अवगत गराएका थिए ।

तामाङको घर निर्माणका लागि बुधबार निर्माण उपभोक्ता समिति गठन भएको छ । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनकुमार तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो । समितिले बैशाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ ।

समितिको सहसंयोजकमा दिपीन राई, सचिव विनोद सापकोटा, कोषाध्यक्षमा मनिषा चम्लागाई, सदस्यमा युवराज लोहार, पवन खनाल र उपेन्द्र बस्नेत रहेका छन् ।

निर्माण उपभोक्ता समितिका संयोजक भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठासहित ३ कोठाको आरसीसी घर निर्माण हुने भएको हो । अर्जुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत ८ लाख हुने बताएको छ ।

को हुन् तामाङ ? तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक थिए । तामाङ ओलीको जीवन रक्षाका लागि घरेलु हतियारसहित बन्दुक लिएर ओली सुरक्षार्थ काम गर्थे ।

सर्वसाधरणको हत्या गरेको आरोपमा तत्कालिन शासकले उनलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ परेका थिए ।

झापाको अगल अलग ठाउँबाट पक्राउ परेका ओली र तामाङ काठमाण्डौको नख्खु जेलमा ११ महिनाको कारावास जीवन सँगै बिताएका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि उनी जेलमुक्त भए । तर, राजनीतिक, आर्थिक र पारिवारिक पीडामुक्त भने भएनन् । सँगै जेल परेका तत्कालिन कम्युनिष्ट यतिबेला मुलुकको नेतृत्व तहमा छन् ।

रातदिन नभनी जसले कम्युनिष्ट नेताको जीवन रक्षा गर्यो, यतिबेला उनीहरु घरको न घाटको जस्तो भएका छन् । तामाङका छिमेकी भन्छन्, ‘केपी ओलीको लागि तामाङले खुकुरी र बन्दुक नबोकेको भए सायद उनी सहिद हुन्थे होला ।’ ओली प्रधानमन्त्री बन्नलाई तामाङको योगदान उच्च रहेको स्थानीयले बताए ।