शनिश्चरे । अर्जुनधारा नगरपालिकाले आजदेखि नगरबासीका लागि कोरोना भाइरस संक्रमणको एन्टिजेन परीक्षण निःशूल्क गर्ने भएको छ ।
नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार आज पहिलो दिन अर्जुनधारा ४, ५ र ७ नम्बर वडाबासीका लागि एन्टिजेन परीक्षण गरिँदैछ । ४ नम्बर वडामा रहेको स्वास्थ्य चौकीमा परीक्षण गरिने भएको हो ।
नगरमा रहेका संक्रमित व्यक्तिको परिवारमा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिको एन्टिजेन परीक्षण गरिने उनले बताए । उनका अनुसार महामारीको लक्षण जस्तै देखिएको खण्डमा मात्र परीक्षण गरिनेछ ।
यस्तै, संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेका व्यक्ति, कन्ट्याक ट्रेसिङ परेका व्यक्तिलाई पहिलो प्राथमिकताका साथ परीक्षण गरिने पनि उनले बताए ।
तालिका अनुसार भोलि शनिबार वडा नम्बर १, २ र ३ नम्बरका लागि खुदुनाबारी स्वास्थ्य चौकीमा परीक्षण गरिनेछ भने पर्सि आइतबार ८, ९ र १० नम्बर वडाबासीका लागि शनिश्चरे अस्पतालमा परीक्षण गरिने भएको छ ।
यसैगरी, ६ र ११ नम्बरका लागि बसपार्क क्षेत्रमा पायक पर्ने स्थानमा एन्टिजेन परीक्षण गरिने भएको छ । यसपछि पुनः नियमितरुपमा परीक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना भाइरसको दोस्रो लहरमा अर्जुनधाराका ४०९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १० जनाले ज्यान गुमाइसकेका छन् ।