समाज

कोरोना संक्रमणबाट झापाका पाँच जनाको मृत्यु

By admin

May 28, 2021

झापा । पछिल्लो २४ घण्टामा झापाका पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर र दमकका दुई-दुई र कमलका एक जना रहेका छन् ।

यसक्रममा मेचीनगरमा थप दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको हो । मृत्यु हुनेहरू वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए ।

वडा नम्बर १० का ३९ वर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । त्यस्तै वडा नम्बर १३ का ५२ वर्षीय पुरुषको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । आज थप दुई संक्रमितको मृत्यु हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरका कारण ज्यान गुमाउनेको सँख्या १४ पुगेको छ ।

त्यस्तै दमक नगरपालिका वडा नं १० र ८ का दुईजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । समान ५५ वर्ष उमेर भएका ती दुवैको उपचारका क्रममा कोशी कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको हो । एकजनाको गएराति २ः१५ बजे र अर्कीको बिहान ९ः३० बजे मृत्यु भएको जनाइएको छ ।

वडा नं १० की महिलाको जेठ ८ गते र वडा न. ८ की महिलाको बैशाख २७ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

त्यस्तै कमल गाउँपालिका वडा नं ३ की श्रेष्ठ थरका ७६ वर्षिय बृद्धको गएराति बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिए । योसँगै कमलमा दोस्रो लहरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ ।

झापामा भने हालसम्म कोरोना संक्रमणबाट २२८ जनाको ज्यान गइसकेको छ ।