खेलकुद

विश्वकप छनोटमा नेपालका खेलहरु पौने १० बजे

By admin

June 01, 2021

काठमाडौं । कुवेतमा हुने फिफा विश्वकप छनौट अन्तगर्त नेपालले खेल्ने तीनै खेल रातिको पौने १० बजे हुने निश्चित भएको छ । नेपालले खेल्ने सबै खेल नेपाली समयअनुसार राति पौने १० बाट हुनेछन् ।

फिफा विश्वकप छनौटको दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्नेछ । तालिकाअनुसार नेपालले जेठ २० गते चाइनिज ताइपेईसँग पहिलो खेल खेल्नेछ ।

सबै प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । जसको प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनविच सम्झौता भएको छ ।

जसमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसको बजार ब्यवस्थापनको जिम्मा ए. डी. रिलिजले गर्नेछ ।

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोभिडका कारण तथष्ठ मैदानमा खेल्न लागेको हो । एशियन फुटबल महासंघले समुह बी का सबै खेल कुवेतमा गराउने निर्णय अनुसार नेपालले कुवेतमा दोस्रो चरणका खेल खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डन र तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार हार र एक जित निकालेको छ ।