समाज

अर्जुनधाराकी २ महिलासहित झापामा ५ जनाको कोरोनाबाट मृत्यु

By admin

June 01, 2021

बिर्तामोड । पछिल्लो २४ घण्टामा अर्जुनधाराकी २ जना महिलासहित झापाका ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ महिला र २ जना पुरुष छन् । जसमा अर्जुनधारा नगरपालिकाका २ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार अर्जुनधारा ५ की ४२ वर्षीया परियार थरकी महिलाको सोमबार राति बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

यस्तै, अर्जुनधारा ११ की ४६ वर्षीया गुरुङ थरकी महिलाको पनि उपचारको क्रममा बिएन्डसी हस्पिटलमा हिजो राति कोरोना संक्रमणबाट भएको छ । याे सँगै अर्जुनधारामा मृतककाे संख्या १५ पुगेकाे छ ।

यसैगरी, बुद्धशान्ति गाउँपालिकाका २ जनाको पनि कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति ३ की ३७ वर्षीया महिला र सोही वडाका ८५ वर्षीय पुरुष छन् । उनीहरु दुवैको मेची कोभिड अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मेचीनगर १० का ५६ वर्षीय पुरुषको पनि मेचीमै मृत्यु भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् । यो सँगै झापामा मृत्यु हुनेको संख्या २४७ पुगेको छ ।

यसैबीच, मंगलबार झापामा २७९ संक्रमित थपिए भने १२६ जना डिस्चार्ज भएका छन् ।