काठमाण्डौ । देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १ का केही ठाउँमा भने बादल लागेको र बाँकी ठाउँको मौसम सफा रहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही ठाउँमा बादल लागेको हो । स्थानीय वायुका कारण अरु केही ठाउँमा सामान्य बादल लागे पनि अहिले देशमा पानी पार्ने उल्लेख्य प्रणाली नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अझै केही दिन ठूलो पानी पार्ने खालको मौसमी प्रणाली आउने सम्भावना कम रहेको मौसमविद् शाक्यले बताउनुभयो । प्रदेश १ का केही ठाउँमा भने सामान्य पानी पर्ने देखिएको छ ।
प्रिमनसुनको समय भएकोले दिउँसोपछि केही ठाउँमा बादल आएर सामान्य पानी पर्ने सम्भावना भने रहिरहने महाशाखाले जनाएको छ ।