समाज

अर्जुनधाराको एकै बस्तीमा २६ जना संक्रमित

By admin

June 06, 2021

झापा । अर्जुनधारा नगरपालिकाको एकै बस्तीमा २६ जनामा कोरोना संक्रमण भएको छ । जसमा एकै परिवारका ६-७ जनासम्म संक्रमित छन् ।

अर्जुनधारा २ स्थित गाँजाबारीमा आइतबार गरिएको एन्टिजेन परीक्षणबाट एकै बस्तीका २६ जनामा संक्रमण पुष्टि भएको हो । सबैमा रुघाखोकी, ज्वरोको लक्षण रहेको छ ।

नगरको स्वास्थ्य शाखाले गाँजाबारीका ४३ जनाको एन्टिजेन परीक्षण गरेको थियो । जसमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको कोभिड फोकल पर्र्सन मुकुन्द बस्नेतले जानकारी दिए ।

नगरपालिकाले स्थानीयमा लक्षण देखा परेका व्यक्तिको एक साता अघिदेखि निःशूल्क एन्टिजेन परीक्षण गर्दै आएको छ । यसमध्ये आज सबैभन्दा बढी संक्रमित फेला परेको हो ।

एकै बस्तीका धेरै जनामा संक्रमण भएपछि स्वास्थ्यकर्मीको टोलीले कन्ट्याक ट्रेसिङ गर्ने तयारी गरेको छ । हालसम्म नगरमा ६ सयको हाराहारीमा संक्रमितको संख्या रहेको छ भने १७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।