स्वास्थ्य

झापामा एकैदिन १४०७ जना निको भए, संक्रमित १२ हजार नाघे

By admin

June 11, 2021

बिर्तामोड । केही दिनयता संक्रमितको संख्याभन्दा निको हुने बढ्दै गएको झापामा पहिलोपल्ट एक हजारभन्दा बढी एकैपटक निको भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार एकैदिन १ हजार ४०७ जना डिस्चार्ज भउका छन् । हिजो संक्रमितभन्दा दोब्बर निको भएका थिए । हिजो १०५ जनामा संक्रमण देखिँदा २११ जना डिस्चार्ज भएका थिए ।

कोरोना भाइरसको महामारी चलिरहँदा पहिलोपल्ट यति धेरै संख्यामा संक्रमित निको भएर घर फर्किएका हुन् । यो सँगै झापामा कोरोना संक्रमणलाई जित्नेको संख्या ९ हजार ७०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झापाका १२६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ८९ जना र एन्टिजेनतर्फ ३७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ६९ जना महिला रहेका छन् ।

यो सँगै झापामा कुल संक्रमितको संख्या १२ हजार नाघेको छ । कार्यालयका अनुसार झापामा कुल संक्रमितको संख्या १२ हजार ७२ पुगेको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका २६ जना छन् । जसमा १७ जना महिला छन् । यस्तै, बिर्तामोडका ११ महिलासहित २० जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, हल्दिबारीका १० महिलासहित १५ जना, शिवसताक्षीका ८ जना, कचनकवलका ६ जना, दमकका ७ जना, मेचीनगर र कमलका ४-४ जना, कनकाईमा ९ जना, झापामा ४ जना, बुद्धशान्तिमा ११ जना, बाह्रदशीमा २ जना, गौरादह र गौरीगञ्जका १-१ जनामा संक्रमण पुष्टि भएको छ ।

झापामा सक्रिय संक्रमितको संख्या २ हजार ६८२ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पछिल्लो २४ घण्टाभित्र झापामा ५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा २ जना जिल्ला बाहिरका छन् । मृत्यु हुनेमा दमक २ का ७० वर्षीय पुरुष, अर्जुनधारा ८ की ७१ वर्षीया महिला र बिर्तामोड १ की ६२ वर्षीया महिलाको ज्यान गएको हो ।

यस्तै, फिदिम ८ का ५४ वर्षीय पुरुष र उर्लाबारी ५ का ६५ वर्षीय पुरुषको पनि झापाका हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २९३ पुगेको छ ।