सूचना प्रविधि

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

By admin

June 12, 2021

झापा । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ ।

देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिनुभयो ।

पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ । मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन् ।

केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।