अर्थ बजार

झापामा २० प्रतिशत छुटमा चामल बिक्री गरिँदै

By admin

June 17, 2021

झापा । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय झापाले सहुलियत दरमा चामल बिक्री गरिरहेको छ । सरकारले बजेट भाषणमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै चामल बिक्री गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जेठ २१ गतेदेखि चामल बिक्री गर्न थालेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गरिरहेको उनले जानकारी दिए ।

कार्यालयले १ हजार ४१० रुपैयाँ वास्तविक मूल्य रहेको प्रति ३० केजी दरको अरुवा सोना मन्सुली चामल १ हजार १२८ र १ हजार ६२५ रुपैयाँ वास्तविक मूल्य रहेको २५ केजी दरको स्टिम जिरा मसिनो चामल १ हजार तीन सयमा बिक्री गरिरहेको छ । हालसम्म कार्यालयले २६० क्विन्टल चामल बिक्री गरिसकेको जनाएकोछ ।

सहुलियत दरमा चामल उपलब्ध भएपछि दैनिक उपभोक्ताको भिड लाग्न थालेको छ । कार्यालयले सरकारले जारी गरेको परिचयपत्रको प्रतिलिपि प्रमाणको रुपमा लिने गरेको छ । सहुलियत मूल्यको चामल निषेधाज्ञा अवधिभरमात्र बिक्री गरिने प्रमुख राई बताए ।