झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसंगै झापामा जिल्ला सभापतिका लागि आकांक्षीहरुको संख्या थपिँदै गएको छ ।
खासगरी अबको झापा जिल्ला सभापति को ? हुने भनेर सबैको ध्यान केन्द्रित छ । पार्टीका वर्तमान जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसपछि नेपाली कांग्रेसका युवा नेता राजेन्द्र घिमिरेले पनि त्यस्तो मनसाय ब्यक्त गरेका छन् । समयले माग्यो भने आफू पार्टीको जिल्ला नेतृत्व हाँक्न तयार रहेको उनले बताएका छन् ।
त्यस्तै पूर्व उपसभापति देउमान थेबे अबको जिल्ला अधिबेशनमा जिल्ला सभापतिको मुख्य दावेदार मानिएका छन् । गत जिल्ला अधिवेशनमा पनि उनले सभापतिमा लड्ने तयारी गरेका थिए । त्यसबेला उनलाई थामथुम गरिएको थियो । यस पटक भने उनले जिल्ला सभापतिमा उठ्ने दृढ इच्छा गरेको बुझिएको छ ।
‘घोषित क्यालेन्डर अनुसार महाधिवेशन हुन्छ कि हुँदैन त्यो हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘अधिबेशन नजिकिएपछि अनि तयारी थाल्ने छु ।’
झापामा आगामी साउन २६ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ । करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्धव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताइसकेका छन् ।