समाज

इलाममा प्रशासन, नापी र मालपोत कार्यालय खुल्ने

By admin

June 28, 2021

पुष्प खड्का, इलाम । इलाममा असार २२ गतेसम्मका लागि एक हप्ता निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले एक सूचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन् ।

जिल्लामा रहेका सक्रिय संक्रमितहरुबाट अन्य मानिसहरुमा कोरोना भाइरस बिस्तार भइ जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अझै केही समय केही सेवाहरु निषेध गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोगहुने सामानहरुका पसल ५ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो ।

एम्बुलेन्स, शव वाहन, दमकल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन, स्वास्थ्यकर्मी चढेका, औषधि तथा स्वास्थ्य सामाग्री बोकेका सवारीसाधन, झण्डाबाहक सवारी, आधिकारिक प्रेस पास प्राप्त सञ्चारकर्मी, निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधन र फोहोरमैला ब्यवस्थापनमा प्रयोग हुने सवारीसाधनहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने जनाइएको छ ।

मलखाद, बिउबिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा बोक्ने सवारीसाधन तोकिएको गन्तब्य बाहेकका स्थानमा रोक्न तथा अन्य मानिस राख्न नपाउने ब्यवस्था गरिएकोछ ।

यस्तै, जिल्लामा धेरै जनसम्पर्क हुने नागरिकता, नापी र मालपोतका सेवा प्रवाह गर्न छुट्टै सूचना प्रकाशन गरि भिडभाड नहुने गरि आलोपालो ब्यवस्था मिलाइने भएको छ ।

इलाममा कोरोना संक्रमणका कारण ४४ जनाले ज्यान गुमाएका छन् भने हाल २७९ जना सक्रिय संक्रमित रहेका छन् । दस स्थानीय तह रहेको इलाममा फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा कोरोना संक्रमणका कारण कसैको निधन नभएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । जिल्लामा बैशाख २८ गतेदेखि निषेधाज्ञा जारी छ ।