अर्थ बजार

दूधको मूल्य नपाउँदा इलामका किसान मारमा

By admin

June 30, 2021

प्रकाश नेपाल, इलाम । चार महिनादेखि दूधको भुक्तानी नपाउँदा पशुपालन व्यवसायबाटै गुजारा चलाउँदै आएका किसान मारमा परेका छन् । गाईवस्तुलाई भुस पिठो पनि किनेरै खुवाउनुपर्ने भएकाले लामो समया निषेधाज्ञा हुँदा झनै समस्या भएको किसानहरूको गुनासो छ ।

डीडीसीले इलामका विभिन्न स्थानबाट सहकारी मार्फत दूध संकलन गरेर विराटनगर पठाउने गरेको छ । तर, यतिबेला दूध बेचेरै घर चलाउनु पर्ने किसानलाई समयमै भुक्तानी नदिँदा सहकारीमा दूध आउन छाडेको छ । समयमै भुक्तानी नपाएपछि किसानहरूले निजी डेरी र सहकारीमा दूध संकलन गर्न थालेका छन् ।

लामो समयदेखि मूल्य नपाएका कारण किसानले दूध नल्याउँदा संकलनमा समस्या भएको पुवाखोला दुग्ध उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक धनप्रसाद दुलाल बताउनुहुन्छ । किसानहरूले चार महिनादेखि दूधको मूल्य नपाएको उहाँको भनाइ छ ।

दुग्ध विकास संस्थान विराटनगरले किसानको फागुन, चैत, वैशाख र जेठ महिनामा विक्री गरेको दूधको मूल्य दिएको छैन । संस्थानले इलामको सात संकलन स्थानबाट दैनिक १५ हजार लिटरभन्दा बढी दूध संकलन गरी विराटनगर पठाउने गरेको छ । संकलित दूध र दूधको परिकार स्टक राख्नु परेकोले समयमा भुक्तानी दिन नसकिएको संस्थानको भनाइ छ ।

यसअघि संस्थानले १५-१५ दिनमा दूधको मूल्य भुक्तानी गरिरहेको थियो । अघिल्लो वर्ष लकडाउन भएदेखि यता भुक्तानी नियमित हुन नसकेको संस्थानकै पदाधिकारीहरू स्वीकार्छन् । सरकारले किसानको समस्या तत्काल समाधान गर्नुपर्ने किसानहरूको माग छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित दूधमध्ये अधिकांश दूध डीडीसीमा बिक्री हुँदा केहीमात्र स्थानीय स्तरमा खपत हुने गरेको छ । १ सय २५ वटा गाई फार्म र सहकारीमा आवद्ध किसानहरूले उत्पादन गरेको दूधको मूल्य नपाउँदा किसान रनभूल्लमा परेका छन् ।