समाज

साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार प्रदान

By admin

July 11, 2021

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संंस्कृति प्रवद्र्धन समितिले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा’ पुरस्कार’ प्रदान गरेको छ ।

नगरमा गठित समितिको आयोजनामा पहिलो पटक ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८’ बाट झापाका अगुवा साहित्यकार ओलीलाई सम्मान गरेको हो । उनलाई सम्मानसहित नगद ५१ हजार राशि प्रदान गरियो ।

साहित्यको क्षेत्रमा राष्ट्रिय नेतृत्व प्रदान गर्ने गरी साहित्यकारहरु जन्माउन सफल अर्जुनधारा नगरपालिकाले साहित्यको क्षेत्रमा गरेको यो नै सबैभन्दा ठूलो कार्य रहेको छ ।लेखनको माध्यमबाट समाजलाई सचेत र जागरुक बनाउन उल्लेखीय भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको समितिकी संयोजक सुशिला सुवेदीले बताइन् ।

आइतबार अर्जुनधारा ७ स्थित पितृ भवनमा आयोजित एक कार्यक्रममा साहित्यकार ओलीलाई प्रमुख अतिथि साहित्यकार तथा प्राध्यापक वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेले सम्मान व्यक्त गरे ।

पुरस्कृत साहित्यकारको व्यक्तित्वबारे साहित्यकार कृष्ण बरालले प्रष्ट पारेका थिए । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी संयोजक सुवेदीले स्वागत गरेकी थिइन् भने कार्यक्रम समितिका सदस्य कुमार भट्टराईले सञ्चालन गरेका थिए ।