समाज

कोसीले धार परिवर्तन गर्दा ५ हजारको ज्यान जोखिममा

By admin

September 13, 2021

धरान । लगातारको बर्षातका कारण आएको बाढिले तिब्र कटान गर्दा सप्तकोसी नदी बस्ती नजिक पुगेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को पश्चिम क्षेत्रको करिव तीन किलोमिटर क्षेत्र कटान गरी सप्तकोसी नदी बस्ती नजिक पुगेको हो ।

तीन किलोमिटर पूर्वमा रहेको सप्तकोसीले धार परिवर्तन गर्दै श्रीलंका टापु नजिक पुगेको छ । सप्तकोसीको बाढी बस्ती नजिक आए पश्चात यहाँका स्थानीयले बस्ती सार्न सरकारसंग माग गरेका छन् ।

श्रीलंका टापुको गरैया टोलका ४५ घर परिवार बसेको बस्ती नजिक कोसीको बाढी आएकाले जुनसुकै बेला बगाउने स्थानीय सुवेश चन्द्रवंशीले बताए । उनले कोसी बस्ती नजिक आउदा समेत स्थानिय, प्रदेश र संघीय सरकारले यहाँका वासिन्दाको सुरक्षामा चासो नदेखाएको गुनासो गरे ।

सप्तकोसी नदीमा बाढीले क्षति पुर्याए पश्चात गृहमन्त्री बालकृष्ण खाँड कोसी प्रभावित क्षेत्रको उदयपुर आए पनि सुनसरीतर्फ नआएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । सप्तकोसीले पश्चिम क्षेत्र कटान गर्दा मानव बस्ती रहेको करिव डेढ सय मिटर नजिकसम्म कोसी बग्न थालेको छ ।

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, स्थानीय वासिन्दा र संचारकर्मीहरुको टोलीले कोसी प्रभावित क्षेत्रको आइतवार निरीक्षण गरेका थियो । मेयर खनालले सप्तकोसीले पश्चिम क्षेत्रमा तीन किलोमिटर चौडाइ र नौ किलोमिटर लम्वाईभन्दा बढी क्षेत्र कटान गरी मानव बस्तीमा प्रबेश गर्न लागेको बताए ।

उनले मानव बस्तीको डेढ सय मिटरसम्म कोसी बग्न थालेकाले तत्काल कटान नियन्त्रणको काम गर्न र नगरवासीलाई सुरक्षित स्थानतर्फ सार्ने व्यबस्था मिलाउन संघीय सरकारसँग माग गरेका छन् ।

‘मैले लिखित रुपमा प्रदेश सरकार र संघीय सरकारलाई कोसी कटान नियन्त्रणको काम थाल्न पटक पटक अनुरोध गरेको छु, मेयर खनालले भने,‘ तर सरकारले स्थानीयको सुरक्षामा चासो देखाएको छैन ।’

कोसी कटान नियन्त्रणको काममा भारत सरकारले समेत चासो देखाएको छैन । भारतले सप्तकोसीको पूर्वी तटबन्धमा नियन्त्रणको काम गरे पनि पश्चिम क्षेत्रमा कुनै पनि काम नगर्दा बराहक्षेत्र नगरपालिकाका ५ हजार सर्वसाधारण जोखिममा परेका छन् ।

पूर्वी तटबन्दमा बगिरहेको सप्तकोसी यस पटक भने पश्चिमतर्फ फर्किएको छ । भारतको विहार सरकारले पूर्वी तटबन्द निर्माणको काम गरेपछि कोसीले पश्चिमतर्फ धार परिवर्तन गरेको हो । भारतले पश्चिमतर्फ तटबन्द निर्माण नगरेका कारण यस क्षेत्रमा बाढिले बर्षेनी हजारौं विघा जमिन कटान गरेको छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।