अर्थ बजार

एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक, असोज ९ गते साधारणसभा

By admin

September 13, 2021

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले २९औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

एनएमसीको बिर्तामोड शाखामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र सदस्य डम्बरबहादुर बस्नेतले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । आगामी असोज ९ गते संस्थाको वार्षिक साधारणसभा हुँदैछ ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले आर्थिक बर्ष २०७७/०७८ मा संस्थाले गरेको गतिविधिका बारेमा जानकारी दिएका थिए ।

संस्थाको आर्थिक बर्ष २०७७/७८ सम्ममा चुक्ता शेयर पूँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २ सय रुपैयाँ छ भने निक्षेप मौज्दात ८ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७७/७८ मा करअघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको छ ।

साधारणसभा सोमबारबाटै शुरु भएको बताउँदै उनले त्यसलाई पूर्णता दिन माइन्युट प्रमाणित गरेर साधारणसभा सम्पन्न गरिने जानकारी गराए ।

१ लाख ७ हजार शेयर सदस्य रहेको संस्थामा पसल तथा कार्यालयमा गरेर ८ सय ४० जना कर्मचारी रहेका छन् । संस्थाको २१४ वटा इकाइ रहेको र ती प्रत्येक इकाईबाट ३ जनाको दरले प्रतिनिधित्व हुनेगरी साधारणसभा गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । ४५ वटा सेवा केन्द्रलाई कार्यसम्पादन सहजताका लागि ६ वटा क्षेत्रमासमेत विभाजन गरेको बताइएको छ ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले संस्थाको संस्थागत संरचना, समग्र वित्तीय संरचनाको झलक, विनियमको पुनरलेखन र कायक्षेत्र विस्तार, कर्पोरेट कार्यालयका लागि जग्गा खरिद, ब्यवसायको संक्षिप्त जानकारी, बचत तथा ऋणको जानकारी, डेरी ब्यवसाय, एकीकृत नमूना कृषि फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय, ब्यवसाय विस्तार, थप ब्यवसायको सम्भावनाका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गरेका थिए ।