शिक्षा

झापाका केही पालिकामा खुल्न थाले विद्यालय !

By admin

September 16, 2021

झापा । कोरोना संक्रमण दर घटेसँगै झापामा विद्यालय खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय खोल्ने निणर्य नगरे पनि झापाका स्थानीय तहले विद्यालय धमाधम खोल्न थालेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण पछिल्लो छ महिनादेखि झापाका विद्यालय बन्द छन् । यसका कारण विद्यालय जाने उमेर समूहका बालबालिका सिकाइ प्रक्रियाबाट पनि बञ्चित भएपछि विद्यालय खुल्न थालेका हुन् । झापाको गौरीगंज, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा अहिले विद्यालय चलिरहेका छन् ।

ग्रामीण क्षेत्रमा पर्ने यी स्थानीय तहले अनलाइन कक्षा असंभव भएपछि केही दिनदेखि ‘सिफ्ट’मा विद्यालय चलाइरहेका हुन् । ‘गाउँमा अनलाइन कक्षा संभव छैन । सबै बालबालिका मोबाइलको पहुँचमा छैनन् । त्यही कारण विद्यालय संचालन गर्नुपरेको हो’, गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले भने, ‘बिहान १० बजेदेखि २ बजेसम्म विद्यालय लाग्छ । त्यो पनि सिफ्ट गरेर पालोपालो विद्यार्थी बोलाएर पढाउँछौँ । सकेसम्म स्वास्थ्य मापदण्ड पालना गर्न विद्यालयलाई भनेका छौँ ।’

लामो समय विद्यालय नलाग्दा बालबालिकामा विद्यालय जाने बानी हट्दै गएका कारण पनि विद्यालय संचालन गर्नुपरेको कचनकवल गाउँपालिका शिक्षा शाखा प्रमुख छवि बस्नेतले जानकारी दिए ।

‘पढाउन भनेर सबै विद्यार्थीलाई सिम त दिएका थियौँ तर मोबाइल नहुँदोरहेछ । जिल्ला प्रशासन कार्यालयले निणर्य नगरे पनि बाध्य भएर स्कुल लगाउनुपर्ने भयो’, उनले भने, ‘दुई सिफ्ट गरेर भीडभाड हुन नदिई पढाउन भनेका छौँ । यसो गर्दा एउटा कक्षालाई सातामा दुई दिनसम्म हुन्छ । थोरै विद्यार्थी भएकामा त सबैलाई बोलाएर पढाउने पनि गरेका छौँ ।’

केही स्थानीय तह विद्यार्थीको सिकाइ क्रियापकलापलाई कसरी अघि बढाउने भन्ने योजना बनाइरहेका छन् । झापाका दक्षिणी क्षेत्रका अधिकांश स्थानीय तहमा भने अनलाइन कक्षा असंभव जस्तै छ । गरिबीको रेखामुनि भएका विद्यार्थी अनलाइन कक्षामा आउनै मुस्किल छ । उनीहरूसँग न मोबाइल छ, न त इन्टरनेट नै । शहरी क्षेत्रका स्थानीय तहले संचालन गरेको अनलाइन कक्षामा समेत विद्यार्थीको सहभागिता न्यून रहेको छ ।

‘अनलाइन कक्षामा त ४० प्रतिशत विद्यार्थी पनि आएनन्’, बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी भन्छन्, ‘अब यसको विकल्प खोज्नै पर्छ ।’ बिर्तामोड नगरपालिकाले पनि ४ असोजदेखि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय लगाउने निणर्य गरेको छ ।

यस्तै, दमक नगरपालिकाले पनि असोज पहिलो सातादेखि विद्यालय संचालनका लागि विद्यालयलाई निर्देशन दिएको दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव दिनेश न्यौपानेले जानकारी दिए । कोरोनाको अवस्था हेरेर विद्यालय संचालन या बन्द गर्ने निर्णय पनि विद्यालय आफैँले लिन सक्ने उनले बताए ।

यद्यपि, विद्यालय संचालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पूरा नभएको पाइए तत्काल बन्द गर्न निर्देशन पनि दिन सकिने उनले बताए ।

कमल गाउँपालिकाले पनि विद्यालय संचालनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । अन्य केही स्थानीय तहले भने जोखिम मोल्न नसकिने भन्दै विद्यालय संचालनबारे कुनै निणर्य गरेका छैनन् ।

झापाका दक्षिणी क्षेत्रका अधिकांश स्थानीय तहले अनलाइन कक्षासमेत संचालन गर्न सकेका छैनन् । दक्षिणी सीमावर्ती गाउँपालिकामा मोबाइलमा नेटवर्कसमेत नआउँदा अनलाइन कक्षा संचालन गर्न नसकिएको जनाएका छन् ।