सूचना प्रविधि

‘गुलाब’ चक्रवात‍को नेपालमा सामान्य प्रभाव पर्ने

By admin

September 28, 2021

काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। आश्विन ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई आश्विन ९ गते बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आश्विन १० गते उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापीय क्षेत्रको रूपमा पश्चिम दिशातर्फ अगाडि बढिरहेको छ।

यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावनामा भने न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भएको छ । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।