अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भइरहेका भवनहरुको रनिङ बिल भुक्तानी गर्ने भएको छ ।
नगर क्षेत्रमा ४ वटा माविमा भवन निर्माण कार्य जारी छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा आएको सशर्त बजेट समयमै भुक्तानी नहुँदा फ्रिज भएको थियो ।
गत साउन महिनामा नगरपालिकाले भुक्तानी नदिएको भन्दै विद्यालय व्यवस्थापन समिति, अभिभावक संघलगायतले विरोध जनाउँदै तालाबन्दीसमेत गरेका थिए ।
तर, नगर प्रमुख हरिकुमार रानाले बजेट फ्रिज भए पनि आन्तरिक स्रोतबाट निर्माणाधीन भवनहरुको भुक्तानी दिने सहमति जनाएपछि नगरको तालाबन्दी खुलेको थियो ।
यसैबीच, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भइरहेका भवनहरुको अर्जुनधारा नगरपालिकाले मंगलबार (हिजो) अनुगमन गरेको छ ।
अर्जुनधारा वडा नम्बर ६ मा लक्ष्मी माविमा १८ लाखमा बनेको २ कोठाको भवन, वडा नम्बर ५ को भानु माविमा ३६ लाखमा ४ कोठा, वडा नम्बर १ को सिंहदेवी माविमा १८ लाखमा २ कोठा र वडा नम्बर १० को सिंहवाहिनी प्राविमा १८ लाखमा २ कोठा निर्माणाधीन भवनको नगर प्रमुख रानासहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले नगरका प्राविधिकहरुको मुल्यांकनको आधारमा रनिङ विल भुक्तानी गरिने तयारी थालिएको बताए । उनले निर्माण कार्य जारी रहेकाले कामका आधारमा भुक्तानी गरिने पनि बताए ।
नगरपालिकाको लागि आर्थिक वर्ष ०७७/०७८ का लागि सशर्त अनुदानअन्तर्गत सम्झौता भएर काम भएकोले आर्थिक वर्षको अन्त्यमा प्राविधिक कारणले भुक्तानी नभएर बजेट फ्रिज भएकाले उक्त रकम नगरपालिकाको आन्तरिक श्रोतबाट आर्थिक वर्ष ०७८/०७९ मा भुक्तानी गर्ने साउन २६ गतेको नगरपालिकाको बोर्ड बेठकले निर्णय गरिसकेको थियो ।
अनुगमनमा कार्यपालिका सदस्य दिलिप गुरुङ, रमेश त्रिखत्री , शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मी, इन्जिनियर निरज अधिकारी लगायत थिए ।