काठमाण्डौ । यो वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उहाँले बताउनुभयो।उहाँका अनुसार अब ठूलो वर्षाको सम्भावना भने छैन ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर मौमसविद्ले अनुमान गरेको अक्टोबर २ मा पनि मनसुन नबाहिरिने भएको हो ।
यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
देशभरकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना भने छैन । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना छ ।
आज भारतको झार खण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ भने हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलिको मौसम पनि यस्तै नै रहने मौसमविद् पौडेलले बताउनुभयो।