खेलकुद

साफमा श्रीलंका स्तब्ध, नेपालको फाइनल पुग्ने सम्भावना

By admin

October 05, 2021

माल्दिभ्स । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबल जितेको मात्र छैन । फाइनल पनि पुगेको छैन । नेपालले कम्तीमा साफ च्याम्पियनसिप २०२१ मा फाइनल प्रवेशको सपना बुन्न सक्छ ।

 

नेपालले सोमबार आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ३-२ पराजित गर्‍यो । लगातार दोस्रो जित निकाल्दै आफ्नो नाममा ६ अंक लेखायो । नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले गोल गरे । सुमन र आयुषले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

 

यो जितसँगै नेपाल लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ । नेपाल पछाडि बंगलादेश ४ अंकमा रहेको छ । भारतको १ अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । लगातार जितले जहाँ नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ, त्यहीं प्रतियोगितामा श्रीलंकाको चुनौती लगभग सकिएको छ ।

 

अब नेपालले आफ्नो तेस्रो खेलमा भारतको सामना गर्नेछ । त्यसमा आफूअनुकूल नतिजा निकालेर स्थिति अझ सुदृढ गर्न सक्नेछ । राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो अन्तिम लिग खेल बंगलादेशविरुद्ध खेल्नेछ ।

 

सुमनले ३३औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाए । उनले श्रीलंकाली पोस्टको गोललाइनबाट गोल गरे । यसअघि पूजन उपरकोटीको प्रहार पोस्टमा लागेर फर्केको थियो र त्यसमै सुमनले ‘प्वाइन्ट ब्ल्यान्क’ बाट गोल गरे ।

नेपालका लागि १६औं क्याप जित्दै सुमनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेर आफ्नो उपयोगिता सिद्ध गरे । सन् २०१६ को बंगबन्धु गोल्डमा डेब्युको अवसर पाएका सुमनले राष्ट्रिय टिमबाट भित्र–बाहिर हुँदै ५ वर्षको अन्तरमा पहिलो गोल गरेका हुन् ।

 

अञ्जनले ५१औं मिनेटमा दोस्रो गोल थपे । उत्कृष्ट ढंगले बल अगाडि बढाउँदै निकालेको क्रसमा अञ्जनले गोल गरे । नेपालका लागि उनको यो छैटौं गोल रह्यो । सम्भवतः उनका लागि यो खेलजीवनकै सबैभन्दा सजिलो गोल पनि रह्यो ।

 

श्रीलंकाका तर्फबाट मार्भिन ह्यामिल्टनले ५७औं मिनेटमा गरेका थिए । इंग्ल्यान्डमा जन्मेका ह्यामिल्टनले श्रीलंकाबाट खेल्नुअगाडि त्यहाँका तल्लो डिभिजनमा खेलेका थिए । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरे ।

 

आयुषले ८६औं मिनेटमा गोल गरे । यो उनको डेब्यु गोल हो । श्रीलंकाको तर्फबाट डिल्लोन डी सिल्भाले पेनाल्टीबाट श्रीलंकाका लागि गोल गरे । गौतम श्रेष्ठले बल ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पाएको थियो । कान्तिपुरबाट