काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत नियमित बुलेटिनमार्फत जानकारी दिएको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ ।
भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव हाल नेपालमा परेको छ।
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो ।
अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो ।
यस्तै, अक्टोबर महिना लागिसकेकाले अहिले पोस्ट मनसुनको जस्तो गतिविधि पनि देखिन थालेकाले अचानक बादल बनेर ठूलो पानी पर्न थालेको उहाँको भनाइ छ ।
पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनका पानी पार्ने बादल विकसित हुने भएकाले पूर्वानुमान गर्न कठिन हुने मौसमविद्ले बताउँदै आएका छन् । हिजो बेलुकादेखि अघि बिहानसम्म लगातार परेको वर्षाका कारण काठमाण्डौ उपत्यकाका खोलामा पानीको सतह बढेको छ ।
यस्तै, अहिले लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । त्यहाँका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
मनसुन बाहिरी नसकेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् ।