खेलकुद

अर्जुनधारामा फुटबल सुरु, शनिश्चरे सेमिफाइनलमा

By admin

October 06, 2021

अर्जुनधारा । झापाको अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको क्लबस्तरीय फुटबल प्रतियोगितामा शनिश्चरे एफसीले विजयी सुरुवात गरेको छ ।

बडादसैँको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा विजेता बनेसँगै शनिश्चरे सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अर्जुनधारा एफसीलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

स्थानीय अर्जुनधारा खेल मैदानमा आयोजित प्रतियोगितामा शनिश्चरे एफसीका लागि दुवै गोल देवेन्द्र तामाङले गरेका हुन् । उनले पहिलो हाफको १२औँ मिनेट र दोस्रो हाफको १५औँ मिनेटमा गोल गर्दै टिमको विजय निश्चित गरेका हुन् ।

असोज २६ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद ३१ हजार र ट्रफी पाउँदा उपविजेताले नगद २१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

खेलको म्यान अफ दी म्याच शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए । उनलाई समाजसेवी केदारनाथ पराजुली, अर्जुनधारा ७ का वडाध्यक्ष नविन ढुंगाना, १० का अध्यक्ष बलदेव गोम्देनलगायतले पुरस्कृत गरे । बिहीबारको खेल आयोजक नव युवा क्लब र साठीमुरे एफसीबीच हुनेछ ।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए । कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, नगर सभा सदस्य देवकुमार राई, रेफ्री संघ झापाका अध्यक्ष प्रदीपकुमार बस्नेत, नेपाल खेलकुद महासंघ झापाका अध्यक्ष भवानी बराल, क्लबका संस्थापक अध्यक्ष हिरामान शाह, सल्लाहकार वेदप्रकाश घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

क्लबका सल्लाहकार भोला परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सल्लाहकार तुलसी श्रेष्ठले गरेका थिए ।