सूचना प्रविधि

बिर्तामोडबाट परिवेश मिडिया र शब्दपत्र अनलाइनको शुभाराम्भ

By admin

October 07, 2021

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहनेगरी युवा पत्रकार पुष्प खड्काको सम्पादनमा आजदेखि परिवेश मिडिया डटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ । खड्काले घटस्थापनाको अवसर पारेर अनलाइन सुरु गरेका हुन् ।

 

उक्त अनलाइनको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष गिरीले ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत विश्वसनीय समाचार उत्पादनमा अनलाइन मिडिया लाग्नु पर्ने बताए ।

 

अहिले अनलाइनले पनि मुलधारको पत्रकारितामा राम्रो स्थान बनाइरहेको बताउँदै उनले अनलाइन पत्रकारिता स्वरोजगारको माध्यम बन्दै गएको पनि बताए । यस्तै, अग्रज पत्रकार लीला बरालले अरु अनलाइनभन्दा फरक किसिमका समाचार यस अनलाइनले पस्कनेमा आफू विश्वस्त रहेको बताए ।

 

नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा सिवाकोटीले चुनौतीका बीच परिवेश मिडिया अब्बल सावित हुने विश्वास व्यक्त गरिन् । उनले अनलाइन पत्रकारितामा चुनौती भए पनि सम्भावना पनि उत्तिकै रहेकाले परिवेश मिडियाको टिमलाई शुभकामना दिइन् ।

 

कन्सल्ट्यान्ट खिवराज दाहालले सत्य तथ्य सूचनाका लागि परिवेश मिडिया सबैको रोजाईमा बन्न सक्नुपर्ने भन्दै विश्वासनीय समाचारको पर्खामा पाठक, दर्शक रहने वातावरण बाउन सिंगो टिम लाग्नुपर्ने सुझाए ।

 

लोकतन्त्रको संस्थागत विकास र सुसाशनको पक्षमा सदैव लागिरहने मिडियाका सम्पादक खड्काले बताए । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि अन्य सबै क्षेत्र, वर्ग, लिङ्ग, विचार, धर्म आदिका समाचारहरुलाई स–सम्मान सम्प्रेषण गरिने उनले बताए ।

 

परिवेश डिजिटल मिडिया प्रालिद्वारा प्रकाशित अनलाइनको प्रबन्ध निर्देशकमा लक्ष्मीप्रसाद बास्कोटा र सञ्चालकमा गंगा तिम्सिना रहेकी छन् ।

 

यसैबीच, आजकै मितिबाट शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टल पनि औपचारिकरुपमा सञ्चालनमा आएको छ । शब्दपत्र प्रकाशन प्रालिद्वारा प्रकाशन तथा शर्मिला पुरीद्वारा सम्पादित अनलाइनको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभाराम्भ गरेका हुन् ।

 

बिर्तामोडमै मुख्य कार्यालय रहने उक्त अनलाइन २ महिना अघिदेखि सञ्चालनमा आएको थियो । शब्दपत्रले सवै प्रकारका समाचारलाई प्रकाशन गर्दै आएको छ भने स्थानीय समाचारलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने सञ्चालक सदस्य उद्दव पुरीले बताए ।