समाज

खुदुनाबारीमा मोटरसाइकल दुर्घटना, एक युवकको घटनास्थलमै मृत्यु

By admin

October 08, 2021

झापा । अर्जुनधारा नगरपालिकाको खुदुनाबारी चोक नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

अर्जुनधारा २ खुदुनाबारीस्थित झेलेनी र फाल्गुनन्द चोकको बीच सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको कल्भर्टमा ठोक्किँदा पहिचान नखुलेका युवाको मृत्यु भएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परी अन्दाजी २८/३० वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मोटरसाइकलमा नराम्ररी क्षति पुगेकाे छ भने माेटरसाइकलकाे नम्बर मे. ४ प २८१५ रहेको प्रहरीले जनाएको छ ।

खुदुनाबारीबाट शनिश्चरेतर्फ तीव्र गतिमा आएको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भइ कल्भर्टमा ठोक्किन पुगेको अस्थायी ट्राफिक प्रहरी पोस्ट शनिश्चरेले जनाएको छ ।

पौने ५ बजेतिर भएको दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।