काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै मनसुन बाहिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मनसुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मनसुन बाहिरिएको मानिन्छ । यो लक्षण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।
बिस्तारै अरु प्रदेशको मनसुन पनि बाहिरिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने मौसमविद्को भनाइ थियो । तर, मौमसविद्ले अनुमान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घर्किसकेपछि बल्ल विभिन्न प्रदेशको मनसुन बाहिरिने क्रम सुरु भएको छ ।
यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही पहाडी भेगमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका एक वा दुई ठाउँमा बेलुकातिर मेघगर्जनसहित सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
शुक्रबारबाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हाल प्रदेश नं १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली भइरहेको जनाएको छ। र, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।