सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिकाले चार वर्षमा ५८ किलोमिटर सडक स्तरोन्नती (सोलिङ) गरेको छ । ग्रामीण क्षेत्रमा सहज रुपमा यातायातका साधन सञ्चालनका लागि ढुङ्गाको सोलिङ गरि स्तरोन्नती गरिएको हो ।
पालिकाभित्रका सडकलाई प्राथमिकताका आधारमा सडक स्तरोन्नतीको काम हुँदै आएको पालिका अध्यक्ष उदय राईले बताए । पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ८ किलोमिटर ७८८ मिटर, ०७५/०७६ मा १३ किलोमिटर ८१५ मिटर सडक स्तरोन्नती गरिएको इञ्जिनियर सुशान्त चापागाईले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १३ किलोमिटर ९१३ मिटर र ०७७/०७८ मा २१ किलोमिटर ३२९ मिटर सडक स्तरोन्नती गरिएको हो । ४६ वटा सडक रहेको सन्दकपूर गाउँपालिकामा सडकलाई स्तरोन्नती गरि हिउँद-वर्षामै नै गाडी सञ्चालनका लागि ढुङ्गा सोलिङ गरिँदै आएको सन्दकपूर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।
यसैबीच, पालिकामा चार आर्थिक वर्षमा १२८ किलोमिटर ५७६ मिटर सडकको नयाँ ट्रयाक खनिएको छ । पालिकाले आर्थिक वर्ष २०७४/०७५ मा २१ किलोमिटर १५ मिटर, ०७५/०७६ मा ४१ किलोमिटर २९२ मिटर सडकको ट्रयाक खनिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ३९ किलोमिटर ३०३ मिटर र ०७७/०७८ मा २६ किलोमिटर ९७५ मिटर सडकको ट्रयाक खनिएको छ । सन्दकपूर गाउँपालिकामा अहिलेसम्म ४३८ किलोमिटर सडक खनिएको तथ्यांक रहेको छ ।
सडकको व्यवस्थित निर्माणका लागि गाउँपालिकाले सडकको आवधिक योजना निर्माण गरि निर्माण गर्दै आएको हो ।