माल्दिभ्स (एजेन्सी) । साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सले आइतबार श्रीलंकालाई १–० ले हराएर आफ्नो स्थिति बलियो बनाएको छ ।
लगातार दोस्रो खेल जितेपछि आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सको ६ अंक भएको छ । आफ्नो पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सले त्यसयता बंगलादेश र श्रीलंकालाई हराएको हो ।
माल्दिभ्सका लागि एकमात्र गोल कप्तान अलि अस्फाकले छैटौं मिनेटमा गोल गरे । उनले उत्कृष्ट हेड गर्दै निर्णायक गोल गरेका हुन् । एक गोलले अगाडि रहेको माल्दिभ्सले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखे पनि दोस्रो हाफमा श्रीलंकाले बलियो पुनर्आगमन रचेको थियो । यसक्रममा श्रीलंकाले केही उत्कृष्ट देखिने आक्रमण बुनेको थियो ।
तर, ती निर्णायक भने सावित हुन सकेनन् । यो जितपछि माल्दिभ्स राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । नेपाल समान ६ अंकमा शीर्ष स्थानमा छ । नेपाल गोलअन्तरले अगाडि रहेको हो । त्यस पछाडि बंगलादेशको चार अंकमा तेस्रो स्थानमा छ ।
अब नेपालले आइतबार (आज) रातिको खेलमा भारतको सामना गर्नेछ । भारत दुई अंकमा रहेको छ । आफ्नो अन्तिम खेल अगाडि नै प्रतियोगिताको फाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको श्रीलंका भने एकै अंकमा सीमित रह्यो । उसले प्रतियोगितामा लिग चरणका सबै चार खेल पनि पूरा गरेको छ र अब घर फर्कनेछ ।