अर्थ बजार

बिर्तामोडमा १० तले अपार्टमेन्ट बन्ने, एकसाथ २ कार्यालय स्थापना

By admin

October 12, 2021

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डोमाम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि र स्टार धनलक्ष्मी हाउजिङ प्रालिको एकसाथ उद्घाटन गरिएको छ ।

 

फूलपातीको अवसर पारेर दुवै कम्पनीको कार्यालय उद्घाटन गरिएको हो । प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद मित्तलले एक कार्यक्रमका बीच मंगलबार गरेका हुन् ।

 

कार्यक्रमका अध्यक्ष तथा नेपाल एभरेष्ट कार्डोमाम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिका सञ्चालक ओमकृष्ण विमलीले स्वदेशमै केही गर्नका लागि कम्पनीको स्थापना भएको बताए ।

 

अपार इन्भेष्टमेन्ट प्रालिको तर्फबाट स्टार धनलक्ष्मी हाउजिङ सुरु गर्न लागिएको पनि उनले जानकारी दिए । अपार इन्भेष्टमेन्टमा लगानीकर्ताकाे समूह मिलेर थोरै थोरै लगानी गर्दा ठूलो काम गर्न सकिने गरि काम अघि बढाइएकाे उनको भनाइ थियो ।

 

अपार इन्भेष्टमेन्ट प्रालिका प्रमुख मनोज उप्रेतीले बिर्तामोडमा अपार स्टार टावर बनाउन लागेको जानकारी दिए । उनका अनुसार यो टावर एक व्यावसायिक अपार्टमेन्ट हो । मेचीमै पहिलो अपार्टमेन्टको रुपमा बन्न लागेको अपार्टमेन्टमा ७२ वटा फ्ल्याट हुनेछन् ।

 

निर्माण कार्यको जिम्मेवारी पाएको मेगा विल्ड प्रालिका सिभिल इन्जिनियर श्रवणकुमार पाण्डेका अनुसार ७ कठ्ठा क्षेत्रफलमा १०औँ तलाको संरचना तयार हुनेछ । जसमा ग्राउण्ड फ्लोरमा पार्कि रहनेछ भने अन्य प्रत्येक तलामा ८ वटा फ्ल्याट निर्माण हुनेछ ।

 

२ महिनापछि निर्माण कार्य सुरु गरी करिब ३ वर्षमा पूर्ण टावर निर्माण सम्पन्न हुने पनि उनले बताए ।

 

नेपाल एभरेष्ट कार्डोमामकी पार्वता खरेल विमलीले स्वागत गरेको कार्यक्रममा अलैँची व्यवसायी तथा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराईलगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमकाे सञ्चालन हाउजिङका सदस्य याम विमलीले गरेका थिए ।