खेलकुद

साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग खेल्ने

By admin

October 14, 2021

झापा (एजेन्सी) । भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

 

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

 

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

 

रोमान्चक बनेको खेलको ३३औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

 

दोस्रो हाफमा भारतका कप्तान सुनिल चम्किए । खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए ।

 

त्यसपछि खेलको ७१ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-१ को जित दिलाए । भारतका लागि उनको यो ७९ औं गोल हो।

 

यस्तै खेलको इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।

 

यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ ।

 

फाइनल खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो ।

 

नेपालले बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्यो ।

 

माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।