अर्थ बजार

कचनकवलको कृषि फार्मको पोखरीमा ‘विष’, ३ क्विन्टल माछा मरे

By admin

October 15, 2021

झापा । झापाको कचनकवल गाउँपालिका ३ मा रहेको एक माछा पोखरीमा नचिनेको मानिसको समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँ रहेको सक्षम युवा कृषि फार्मको माछा पोखरीमा नचिनेको मानिसको समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फार्मका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो ।

 

‘चार दिनयता माछा मरिरहेका छन्’, गौतमले भन्नुभयो, ‘कुखुराको आन्द्राभुँडीमा विष हालेर पोखरीमा हालिएको भेटियो, मरेका माछाले कुखुराको भुँडी खाएको भेटियो ।’

 

गएको सोमबारदेखि माछा मर्न थालेको उहाँको भनाइ छ । झन्डै आधा किलो तौल भएको माछा उहाँले केही दिन अघिदेखि मात्र बिक्री गर्न थाल्नुभएको थियो । ‘सोमबार आठ, दश वटा माछा मरेको भेट्यौँ’, उहाँले भन्नुभयो, ‘त्यसको भोलिपल्ट मङ्गलबार ५० वटा जति, बुधबार एक क्विन्टल र बिहीबार दुई क्विन्टल जति मरेका माछा पोखरीबाट निकाल्यौँ ।’

 

पोखरीमा १० हजार माछाको भुरा हालेको उहाँको भनाइ छ । पोखरीमा हालिएको विषका कारण झन्डै १० क्विन्टल माछा मर्ने र त्यसबाट तीन लाख रुपैयाँभन्दा बढी घाटा हुने उहाँले बताउनुभयो । पोखरीमा कसले विष हाल्यो भन्ने यकिन नभएको उहाँले बताउनुभयो । मरेका माछा प्रहरीको सल्लाहमा आफूले खाल्डो खनेर पुरेको उहाँले जानकारी दिनुभयो ।

 

सक्षम युवा कृषि फार्म दर्ता गरेर विसं २०७२ सालदेखि चार बिघा १५ कठ्ठा क्षेत्रफलमा माछा, बाख्रा र राँगा पालन गर्दै आएको सञ्चालक गौतमले बताउनुभयो ।

 

पोखरीमा विष हालिएको विषयमा उहाँले प्रहरी चौकी पथरियामा समेत निवेदन दिनुभएको छ । निवेदनपछि आफूहरूले घटनास्थलको निरीक्षण गरेको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेशकुमार शेर्माले बताउनुभयो । ‘माछा मरेको छ’, उहाँले भन्नुभयो, ‘अनुसन्धान गर्दैछौँ ।’