खेलकुद

भारत फेरि साफको विजेता, नेपाल उपविजेतामा सीमित

By admin

October 16, 2021

झापा । पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले अन्ततः भारतलाई उपाधि सुम्पन बाध्य बनेको छ । तर, नेपाल पहिलोपल्ट उपविजेता बनेको छ ।

 

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

 

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा विजेताको दाबेदात भारतलाई उपाधि सुम्पन बाध्य बनेको हो । दोस्रो हाफमा भारतको नेपालविरुद्ध ३-० गोल भएको थियो ।

 

 

उपाधिको पहिलोपल्ट दाबेदारी प्रस्तुत गरेको नेपालले दोस्रो हाफ सुरु भएलगत्तै २ मिनेटभित्र २ गोलको सामना गर्नु पर्यो । इतिहास रच्ने अवसरका साथ मैदानमा उत्रिएको नेपालले पहिलो हाफ भारतसँग गोलरहित बराबरी खेले पनि दोस्रो हाफ अनपेक्षित रह्यो ।

 

दोस्रो हाफ सुरु हुनुबित्तिक्कै भारतका लागि कप्तान सुनिल क्षेत्रीले हेडरमार्फत गोल गरेर सुरुवात गरेका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

 

लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

 

६६ औं मिनेटमा सुनिलले नेपालको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । ७३ औं मिनेटमा किरणले अनिरुद्धको फ्रिकिकलाई बचाउँदै भारतलाई अग्रता बढाउने अवसर दिएनन् । ७७ औं मिनेटमा मनिष डाँगीको लामो पासमा रोहितको फ्लिक हेडर क्रसबारमा लाग्दा नेपाल खेलमा फर्कने अवसरबाट बन्चित भयो ।

 

८० औं मिनेटमा रोहितले आफ्नो पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै उदान्त सिंहको अन्तिम प्रहारलाई विफल बनाएका थिए । ८४ औं मिनेटमा मनिषको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदै सहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए ।

 

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका थिए । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका थिए ।

 

 

नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगको हो भने भारतले आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि रक्षा गरेको हो ।