अर्थ बजार

किसानलाई तत्काल राहतको घोषणा गर्न माग

By admin

October 19, 2021

झापा । केही दिनदेखिको अविरल हावापानीले मुख्य धानबालीमा क्षति पुगेकोले किसानलाई तत्काल राहतको घोषणा गर्न माग उठ्न थालेको छ । लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको छ ।

 

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले असमयको वर्षा र बतासका कारण कृषकको मुख्य बाली धानमा व्यापक क्षति पुगेकोले अप्ठ्यारोमा परेका कृषकहरूका लागि तत्काल राहतको घोषणा गर्न माग गरेका छन् । उनले त्यसतर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

 

 

त्यस्तै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले अविरल वर्षाका कारण धानबालीलगायत अन्य बालीहरु नष्ट हुँदा किसानहरु मारमा परेको भन्दै तीनै तहका स्थानीय, प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले पीडित किसानलाई राहत प्याकेजको ब्यवस्था गर्न माग गरेका छन् ।

 

त्यस्तै कुमार सिटौलाले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार सबैको ध्यान त्यतातिर जाओस् भन्दै वर्षभरि खाने अन्नको दुरावस्था भएकाले राहतको प्याकेज ल्याउने कुरामा सबै तहको सरकारको एकमत हुनुपर्नेमा जोड दिएका छन् ।

 

यस्तै, सामाजिक अभियन्ता कमल पोख्रेलले अर्जुनधारा ७ को वडा कार्यालयमा क्षतिपूर्तिका लागि निवेदन नै दिएका छन् । अर्जुनधारा ७ निवासी पोख्रेलले वडाध्यक्ष नविन ढुंगानालाई सम्बोधन गर्दै धानबालीमा पुगेको क्षतिको अनुगमन र क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

 

निवेदनमा उनले भनेका छन्, ‘पाक्न लागेको धान हावाहुरी र झरीले क्षति पुराएकाले तत्काल तथ्यांक संकलन गरि पीडित किसानका लागि क्षतिपूर्तिको पहल गरियोस् ।’