बिर्तामोड । तीन दिनदेखि लगातार परेको बेमौसमी वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।
ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट धामधाम जानकारी आइरहेको उहाँले बताउनुभयो । ‘किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।’
वर्षा बढिरहेका कारण थप क्षति बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । विगत वर्षहरुमा भन्दा यसवर्ष धान राम्रो फस्टाएको र उत्पादकत्व बढ्ने केन्द्रले अनुमान गरेको थियो । वर्षाका कारण धेरै धानबालीमा क्षति पुगेकाले अब त्यो सम्भावना कम रहेको उहाँले जानकारी दिनुभयो ।
गौरादह नगरपालिका-५ नमूना एकीकृत कृषि सहकारी संस्थाले बीउ उत्पादनका लागि लगाएको २० बिघा जमिनका धानमा क्षति पुगेको सहकारीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब बीउका लागि पानीमा डुबेको धानलाई ग्रेडिङ गर्न मिल्दैन । पानी यस्तै थप दुई दिनमात्र पर्यो भने खाद्यान्नका लागि पनि प्रयोग गर्न नमिल्ने गरी धान नष्ट हुने भयो ।’
उहाँले बेला न कुबेलामा परेको पानीका कारण धान किसान ठूलो मारमा परेको बताउनुभयो । सहकारीले बासमती, कालो नुनिया, हाइब्रिड, रञ्जित, गरिमालगायत धानको बीउ उत्पादन गर्दै आएको छ । बाली थन्क्याउने बेला पानीले धानको बीउ नै मासिदिन्छ कि भन्ने पीरमा रहेको उहाँको भनाइ छ ।
बुद्धशान्ति गाउँपालिकाका किसान मोहन बाँस्तोलाले प्रकृतिले पनि किसानलाई ठगेको गुनासो गर्नुभयो । उहाँले दैनिक हूल बाँधेर आउने जङ्गली हात्तीबाट जोगाएर पाकेको धानमा पानीले ठूलो क्षति पुगेको जानकारी दिनुभयो ।
‘जङ्गली हात्तीबाट रातभर जाग्राम बसेर बचाएको धान बालीलाई प्रकृतिको प्रकोपबाट बचाउन सकिएन’, उहाँले भन्नुभयो, ‘बेलैमा भोकमरी लाग्ने भयो ।’