समाज

पाँचथरमा बाढीपहिरोले ज्यान गुमाएकामध्ये १७ जनाको सनाखत

By admin

October 21, 2021

फिदिम । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा ज्यान गुमाएका २७ मध्ये १७ जनाको सनाखत भएको छ ।

 

पहिरोमा सबैभन्दा धेरैको ज्यान गएको मिक्लाजुङ गाउँपालिकामा १२ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोबाट थप ९ जनाको शव निकालेर पहिचान गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

 

हालसम्म मिक्लाजुङ ५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीया अनिशा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ, ७६ वर्षीय नरबहादुर लावती, ९ महिनाकी आकांक्षा लावती रहेका छन् ।

 

 

यस्तै, मिक्लाजुङ ४ का २९ वर्षीय बबिन राई, ६० वर्षीय साहिला मगर र २७ वर्षीया दिवाना राईको शव पहिचान भएको हो ।

 

बुधबार पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम ४ की २५ वर्षीया ममता मगर, ४ वर्षीय रोयल मगर, कुम्मायक २ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजोङ ४ का ६५ वर्षीय धनबहादुर लावती र फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्बा तामाङको हिजै पहिचान गरिएको प्रहरीले जनाएको छ ।

 

पहिरोका कारण मेची राजमार्ग, कोसी करिडोर र मध्य पहाडी लोकमार्गसहितका सडक अवरुद्ध छन् । ठाउँ ठाउँमा पहिरो र ढिस्को खसेका कारण अवरुद्ध सडक खुलाउन पहल थालिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिएका छन् । इकान्तिपुरबाट