समाज

विधार्थीमाथि यौन शोषण गरेको आरोपमा शिक्षक पक्राउ

By admin

October 28, 2021

बिर्तामोड । विधार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।

 

पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा ६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । ‘उजुरीका आधारमा पक्राउ गरिएको छ’, डिएसपी आचार्यले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’

 

बिर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केही समयदेखि प्रलोभनमा पारी यौन शोषण गरेको आरोप लागेको छ । परीक्षामा सहयोग गर्ने भन्दै तत्कालिन शिक्षक बस्नेतले बिर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको हो ।

 

होटलमा खाजा खान बोलाउने र होटल भिडभाड छ भन्दै कोठामा लगेर यौन शोषण गर्ने गरेको पीडितको भनाइ छ । १५ वर्षीया बालिकालाई फेसबुकमा समेत म्यासेज गर्दै बोलेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।

 

यसैबीच, शिक्षक बस्नेत असोज महिनादेखि न्युटनमा कार्यरत नरहेको प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिएका छन् । अध्ययनका लागि भारत जाने भनेपछि विद्यालयले विदा दिएको हुमागाईको भनाइ छ । ‘भदौ महिनासम्म कार्यरत हुनुहुन्थ्यो, त्यसपछि यहाँ हुनुहुन्न’, उनले भने ।

 

हुमागाईले प्रहरीबाट सो घटनाबारे जानकारी पाएको बताएका छन् । उनले गलत क्रियाकलापमा सरिक जोसुकैलाई कानुनी कारवाही हुनुपर्ने बताए । न्युटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत थिए । उनी विद्यालयमा कार्यरत रहँदै विधार्थीमाथि यौन शोषण गरेको बताइएको छ । पीडित बालिकाको बुधबार नै स्वास्थ्य जाँच गरिएको छ ।