समाज

अर्जुनधाराका कृषकसँग कर्मचारीको सहकार्य नभएको स्वीकार

By admin

November 01, 2021

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेका कृषकसँग सरोकारवाला कर्मचारीको सहकार्य हुन नसकेको स्वीकार गरिएको छ । सहकार्य र समझदारी वातावरण बन्न नसक्दा बेला बेला तनाव सिर्जना हुने गरेको पनि बताइएको छ ।

 

नगरपालिकाका प्रशासन शाखा प्रमुख चुडामणी निरौलाले कृषकसँग सहकार्य र समन्वय नहुँदा नगरलाई कृषि र पशुको हब बनाउन खोजे पनि उपलब्धी हासिल हुन नसकेको बताए ।

 

पशुपंक्षीका क्षेत्रमा केही काम भए पनि कृषितर्फ सोचेजति हुन नसकेको भन्दै उनले कृषिमा आधारित नगर भए पनि काम चाहिँ औपचारिकतामा सीमित रहेको सुनाए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोगमा मानव अधिकार समूह अर्जुनधाराद्वारा सोमबार आयोजित खाद्य अधिकारको विषयमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख निरौलाले सो कुरा बताएका हुन् ।

 

कृषि विकास शाखा र पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखामा भएका केही कमजोरी भएको स्वीकार गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले कृषि शाखाका कर्मचारीले कृषकहरुसँग सहकार्य गर्न नसकेको, शाखाले सञ्चालन गर्ने कार्यक्रमबारे कृषकहरुलाई बुझाउन नसकेका कारण समस्या उत्पन्न भएको बताए ।

 

उनले कृषि विकास शाखातर्फ संकेत गर्दै उक्त शाखामा अधिकृतस्तरको नेतृत्व नहुनु पनि अर्को समस्या भएको बताए । जनप्रतिनिधिको चाहना भएर पनि अधिकृतस्तरको नेतृत्व ल्याउन नसकिएको उनले खुलासा गरे ।

 

कर्मचारीहरुमा काम गर्ने इच्छाशक्ति भए उत्कृष्ट नगर हुने दाबी गरेका उनले अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्न आफूले पहल गर्ने पनि बताए ।

 

यता कृषि विकास शाखा प्रमुख उर्मिला राजवंशीले कृषिसम्बन्धी नीतिहरुको अभावमा शाखाले ल्याउने कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको दाबी गरिन् । त्यसैगरी गत असोज ३१ गते परेको बेमौसमी वर्षाका कारण नगरको छ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ९८५ हेक्टर क्षेत्रफलको धानबाली पूर्णरुपमा क्षति भएको उनले जानकारी गराइन् ।

 

समूहका अध्यक्ष चन्द्र सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा कृषि सम्बन्धी १५ वटा र पशुपंक्षी, मत्स्य तथा कछुवासम्बन्धी ११ वटा बुँदा उल्लेख गरिएको थियो । कार्यपत्रमा उल्लेख गरिएको बुँदाहरुको विषयमा कृषि विकास शाखाकी प्रमुख राजवंशी र पशुपंक्षी, मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतले जवाफ दिएका थिए ।

 

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ का इञ्चार्ज दिपीन राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, कृषक संगठनका हरि शर्मालगायतले सुझाव पेस गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका संयोजक राजन साम्पाङले गरेका थिए ।