समाज

झापाको बुट्टाबारी र चारआलीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

By admin

November 07, 2021

बिर्तामोड । झापाको मेचीनगरस्थित चारआली र बिर्तामोडको बुट्टावारी चिया बगान अगाडि भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

 

तिहारको भाइटीकाको दिन हिजो राति भएका अलग–अलग सवारी दुर्घटनामा दुई जना किशोरको ज्यान गएको हो । उनीहरुमध्ये एक जना १६ र अर्का १८ वर्षका छन् ।

 

चारआलीको तेलिबारीस्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश १-०४-०१४ प ३३४५ र प्रदेश १-०४-००१ प ३९९५ नम्वरको मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो । दुर्घटनामा मेचीनगर ८ का १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको छ ।

 

टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठलाई उपचारका लागि बीएण्डसी टिचिङ हस्पिटल लगिएको थियो । घटनामा मोटरसाइकल चालक मेचीनगर ८ का अनिष गिरी घाइते भएका छन् । गिरीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् ।

 

घटनामा मोरङ उर्लाबारीका निकेश शिवकोटी पनि घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको छ । उनी पनि बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछाडि सवार मेचीनगरका प्रविण मेचेको हात र खुट्टामा चोट लागेको छ ।

 

यसैगरी, शनिबार साँझमै बुट्टावारीमा नम्बर नखुलेको रातो रंगको २२० सिसिको पल्सर मोटरसाइकल र प्र १-०१-०१४ प ६००७ नम्वरको स्कुटी आपसमा ठोक्किँदा झापा मेचीनगर १० का १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा उनका बाबु ४२ वर्षीय डिल्ली कार्की घाइते भएका छन् ।

 

घटनापछि मोटरसाइकल चालक झापा हल्दीवारी-४ का नरेश तामाङ फरार भएका छन् । उनको खोजतलास भइरहेको झापा प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही ठाउँका पिजेश लामाको उपचार भइरहेको छ ।