समाज

खोटाङका युवा रेडपाण्डा संरक्षणमा जुटे, मारिने क्रम घट्दै

By admin

November 08, 2021

खोटाङ । लोपोन्मुख रेडपान्डा संरक्षणका लागि यहाँका युवा जुटेका छन् । रेडपान्डा खासगरी केपिलासगढी गाउँपालिका १ फेदी, वडा नं ७ सुङ्देल र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको लेकाली जंगलमा पाइने गर्छ ।

 

फेदीको चिलिमलौरे, फुङ्गालुङ, छिमालुङ र बगाले तथा सुङ्देलको दयालुबमा, देवीखर्क र बुङ्बुङ्गे सामुदायिक वन र पाथेकाको कोप्चे, मेरुङलगायतका सामुदायिक वनमा रेडपान्डा पाइने भएकाले स्थानीय युवा संरक्षणमा जुटेको केपिलासगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए ।

 

केही वर्षअघि रेडपान्डा संरक्षण समिति गठन गरेर संरक्षणमा जुटेको रेडपान्डा संरक्षण समितिका सचिव मनकुमार तामाङले बताए । उनका अनुसार फेदी र सुङ्देलका गरी ११ सदस्यीय रेडपान्डा संरक्षण समिति निर्माण गरेर रेडपान्डा संरक्षण जुटेका हुन् । रेडपान्डा संरक्षणका लागि केपिलासगढी गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष दुई लाख र त्योभन्दा अघिल्लो वर्ष डिभिजन वन कार्यालय खोटाङले ५० हजार रुपैयाँ उपलब्ध गराएको तामाङले सुनाए । उक्त रकमले जनचेतनामूलक कार्यक्रम तथा होर्डिङ बोर्डहरू बनाइएको तामाङले बताए ।

 

युवाहरू संरक्षणमा जुटेपछि रेडपान्डा मारिने क्रम घटेको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । ‘पहिले–पहिले रेडपान्डा चोरी निकासी हुन्थे,’ राईले भने, ‘पछिल्लो पटक रेडपान्डा जोगाउने अभियान सुरु गरेपछि भने रेडपान्डाको संख्या बढेको पाइएको छ ।’

 

रेडपान्डा जोगाउन केपिलासगढी गाउँपालिका १ फेदीले गत वर्ष दुर्लभ रेडपान्डाको फोटो तथा भिडियो उपलब्ध गराउनेलाई पुरस्कृत गरेको वडासचिव ध्रुवराज राईले बताए । स्थानीय छिमालुङ सामुदायिक वनमा रहेको लोपोन्मुख रेडपान्डाको फोटो र भिडियो उपलब्ध गराउने स्थानीय पञ्चकेशर राईलाई पुरस्कृत गरिएको वडा सचिव राईले सुनाए ।

 

स्थानीय जंगलमा लोपोन्मुख रेडपान्डा छ भन्ने जानकारीपछि त्यसको संरक्षणका लागि फोटो तथा भिडियो उपलब्ध गराउनेलाई पुरस्कार दिने वडा कार्यालयले घोषणा गरेको हो । स्थानीयले रेडपान्डा संरक्षण सुरु गरेको र यसलाई टेवा पुर्‍याउन वडा कार्यालयले पुरस्कार दिन थालेको हो ।

 

डिभिजन वन कार्यालय भने लोपोन्मुख वन्यजन्तु संरक्षण बारेमा बेखबर बनेको स्थानीयको गुनासो छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।