खेलकुद

सानदार जितसँगै इलामको रोङ क्वाटरफाइनलमा

By admin

November 08, 2021

काठमाडौँ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिका क्वाटरफाइनल प्रवेश गरेको छ ।

 

आइतबार सम्पन्न नकाउट चरणको खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

 

रोङको जीतमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरिन् । तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काइन् । खेलको ‘प्लेयर अफ दि म्याच’ रोङकी इन्दिरा राई घोषित भइन् ।

 

रोङ समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको हो । यता, तुलसीपुर समूह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो । अब सेमिफाइनल प्रवेशका लागि रोङले २४ गते कैलालीको गौरीगङ्गा नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतियोगिता अन्तर्गत सोमबार झापाको शिवसताक्षी नगरपालिका र ललितपुर उपमहानगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

 

कुल १० टोली सहभागी नकाउट चरणको बिजेता र उपविजेताले उपमेयर महिला लिगमा सहभागिताको अवसर पाउनेछन् । छनौट चरणको प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छ । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् ।