अर्थ बजार

शारदाको जन्मदिनमा नारी संचार गृहलाई सहयोग

By admin

November 09, 2021

झापा । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १० हजार एक सय रूपैंया प्रदान गरेकी छिन् ।

 

मंगलवार आफ्नो जन्मदिनको अवसरमा उक्त रकम नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, सचिव भूमिका लिम्बू फियाक, कोषाध्यक्ष ज्योष्ना श्रेष्ठ र सदस्य सुनिरा मैनालीसहितको टोलीलाई प्रदान गरिएको हो ।

 

मेचीनगरको धुलावारी निवासी खवास पूर्वपत्रकार हुन् । उनले ग्लोबल एफएम, आंगन एफएम, सामुदायिक रेडियो सरगम र रेडियो सनराइजमा करिब सात वर्ष काम गरिसकेकी छिन् ।हाल भने उनी वैदेशिक रोजगारीमा रहेकी छिन् ।

 

आफू विदेशमा रहेता पनि संस्थाको सक्रियता नियालिरहेको र जानकार भएको खवासले बताइन् । महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्न स्थापना गरेको कोषमा आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुशी भएको बताइन् ।

 

कोषमा विभिन्न दाताहरूले आफ्नो जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा र विभिन्न संस्थाहरूले सहयोग गर्ने क्रम जारी छ । २५ लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शुरु गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा हालसम्ममा २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको अक्षयकोषका संयोजक रेजिना गौतमले जानकारी दिइन् ।