बिर्तामोड । स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाई वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मानित भएका छन् । उनलाई बिर्तामोडको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान गरेको हो ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईलाई संस्थाको १०औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गर्नुभयो ।
ग्रामीण क्षेत्रमा रहेर पनि स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा हात हाल्दै प्रसाईले बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउन सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईले भन्नुभयो, ‘असाधारण मान्छेले नै चमत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’
बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संर्घष गरेको बताउँदै बिर्तामोड बिस्तारै मेडिकल क्षेत्रको हब बन्दै गएको तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिँदै गएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सताक्षीधाम दूधे सामुदायिक केन्द्रका अध्यक्ष छत्रबाबु ओझा, क्षितिज नाट्य समूहका तर्फबाट माधव कल्पित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मी गौतमले गर्नु भएको थियो ।