समाज

शनिश्चरे-खुदुनाबारी सडक बनाउन दबाब दिँदै धुलो प्रभावितहरु प्रशासनमा

By admin

November 15, 2021

भद्रपुर । झापाको पुरानो बजार शनिश्चरेहुँदै खुदुनाबारी जोड्ने सडक समयमै कालोपत्रे नगरिएपछि सरोकारवाला निकायलाई दबाब दिन अर्जुनधारा नगरपालिकाका धुलो प्रभावितहरुले आज जिल्ला प्रशासन कार्यालय झापामा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

 

धुलो प्रभावितहरुले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई भेटेर अर्जुनधारा ७ र ८ स्थित शनिश्चरे-खुदुनाबारी (७.८ किलोमिटर) सडकखण्ड अन्तर्गत कालोपत्रे गर्न बाँकी अनुमानित डेढ किलोमिटरको कार्यलाई तत्काल सुरु गर्न माग गरे ।

 

दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने उक्त सडक समयमै नबनिएपछि धुलो प्रभावितहरुले पटक पटक बाटो बन्द गर्दै आइरहेका छन् । हिजो साँझमात्र करिब ४ घण्टा सडक अवरुद्ध गरिएपछि आज जिल्ला प्रशासनमा छलफल चलाइएको हो ।

 

उनीहरुले कालोपत्रेको कार्य स्थगित भएपछि धुलाम्मे सडकका कारण विभिन्न समस्या सिर्जना भएको भन्दै प्रजिअ तिमल्सिनालाई समस्याबारे जानकारी गराएका थिए । अर्जुनधारा ८ नम्बर वडाध्यक्ष गोपीचन्द्र गौतमले आफूहरुले पटक-पटक ठेकेदारलाई स्थगित भएको कालोपत्रेको कार्यलाई सुचारु गर्न पहल गर्दा पनि ठेकेदार फूर्तेम्ब शेर्पाले चासो नदिएको बताए । सडक स्तरोन्नतीको आशमा आफ्नो निजी संरचनाहरु भत्काएर बसेका स्थानीयहरु धुलाम्मे सडकका कारण थप पीडित बन्नुपरेको सदस्य गौतमले बताए ।

 

त्यसैगरी ७ नम्बर वडाध्यक्ष नवराम ढुंगानाले सडक कालोपत्रेको बाँकी कार्यलाई तत्काल सुरु नगर्ने हो भने स्थानीयहरुले अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारीसाधनहरु सञ्चालनमा पूर्णरुपमा रोक लगाउनुको विकल्प नभएको जानकारी गराए ।

 

अर्जुनधाराबासीको समस्या सुनेपछि प्रजिअ तिमल्सिनाले जिल्ला पूर्वाधार कार्यालयका प्रमुख रमेश श्रेष्ठलाई बोलाएर समस्या र समस्या समाधानका बारेमा जानकारी लिएका थिए । पूर्वाधार प्रमुख श्रेष्ठले कोभिड १९ र बजेट अभावमा सडक कालोपत्रेको कार्य स्थगित भएको स्पष्ट पारे । उनले निर्माण कम्पनीलाई चैत मसान्तसम्मको समयसीमा भएको र उक्त समयसीमासम्म काम सम्पन्न नभए कम्पनीलाई कालो सूचीमा राख्ने दाबी गरे ।

 

यता प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले तत्काल ठेकेदार शेर्पासँग फोन सम्पर्क गर्दा उनले स्थगित भएको बाँकी काम सकेसम्म चाँडै सुरु गर्ने बताएका थिए । उनले स्थानीयहरुको सडक कालोपत्रेको कार्य तत्काल सुरु गर्नुपर्ने मागको विषयमा भने ठेकेदार शेर्पाले काम सम्पन्न गर्ने आश्वासन मात्र दिए तर कहिलेदेखि सुरु गर्ने भन्ने बताएनन् ।

 

धुलो प्रभावितहरुले तत्काल कार्य सुरु नभएसम्म सो सडकलाई दैनिक पानीले भिजाउन जिल्ला पूर्वाधार कार्यालयले ठेकेदार शेर्पासँग सहजिकरण गर्नुपर्ने अर्को माग पनि राखेका छन् । उक्त कार्यको लागि आफूले पनि सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी तिमल्सिेनाले बताए ।

 

बैठकमा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, नेपाली कांग्रेस नगर उपसभापति चर्तुभूज काफ्लेलगायत पदाधिकारी, नेकपा एमाले नगर कमिटीकी सदस्य मुना बाँस्कोटा, हामी ३८से समूहका सदस्य पूष्प ओझालगायतको सहभागिता रहेको थियो ।

 

२०७७ असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रेको कार्य ¥याप थ्री योजना अन्तर्गत भ्याटसहित आठ करोड ९८ लाख १९ हजार नौ सय ५५ रुपैयाँ १७ पैसाको लागतमा निर्माण सुरु भएको थियो । उक्त सडकअन्तर्गत खुदुनाबारीदेखि नारायण चोक खण्ड कालोपत्र भइसकेको छ ।

 

तर, विभिन्न बहाना देखाएर नारायणचोकदेखि शनिश्चरे बजारसम्म कालोपत्रे हुन सकेको छैन । उक्त ठेक्का काठमाण्डौंको कञ्चनजंघा-शेर्पा-कञ्चनजंघा जेभीले पाएको थियो ।