अर्थ बजार

झापाको सुरुङ्गामै नक्कली मल बनाउने फ्याक्ट्री फेला

By admin

November 15, 2021

झापा । कृषकहरुले रासयनिक मल नपाएर हाहाकार भइरहेको बेला झापामा नक्कली मल बनाएर बिक्री गर्ने गरेको फेला परेको छ ।

 

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको तिलक पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ बिक्रीका लागि लैजान ठिक पारेको १६ बोरा तयारी नक्क्ली पोटास र बनाउँदै अवस्थाको केही बोरा भुइँमा राखिएको नुन र रातो माटो बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा र सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास समेत फेला परेको हो ।

 

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घर पछाडिबाट नक्कली पोटास बनाउँदै गरेको अवस्थामा फेला पारेको हो ।

 

सादा पोशाकमा गएको प्रहरीलाई देख्नसाथ नक्कली पोटास बनाउने ४ जनाको समुह भागेको र प्रहरीले घरधनी अटोरिक्सा चालक समेत रहेका तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक जिम्बाले बताउनुभयो ।

 

भट्टराई कृषि भण्डारबाट झापा तथा पहाडका जिल्लाहरुमा रासयनिक मलहरु सप्लाई हुँदै आएको छ । उक्त पसलबाट नक्कली मल आफैँ बनाएर बिक्री भएको थाहा हुनसाथ आफूले किनेको मल लिएर सयौँ कृषकले विरोध प्रदर्शन गरेका छन् ।

 

मल नपाएको बेला महँगो मुल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको पाइएपछि मलको कालो बजारी र नक्कली मल बनाउने गिरोहलाई कार्वाही हुनु पर्ने स्थानीय कृषक राजकुमार श्रेष्ठ बताउँछन् ।