अर्थ बजार

चिया र अलैंचीको करमा विशेष छुट हुनुपर्ने व्यवसायीको माग

By admin

November 15, 2021

बिर्तामोड । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजश्व परामर्श समितिले निर्यातजन्य कृषिवस्तु चिया र अलैंचीमा विद्यमान समस्या, कर सुधार एवम् राजश्व नीतिका सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

 

नेपाल चिया उत्पादक संघको समन्वयमा सोमबार बिर्तामोडमा नेपाल राजश्व परामर्श समितिले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

 

अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले चिया, अलैंची कृषिजन्य उत्पादन भएकोले यी वस्तुमा लिइँदै आएको कर र राजश्वमा विशेष छुट हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले निर्यातजन्य कृषि वस्तु भए पनि राज्यका तर्फबाट कुनै पनि किसिमको उल्लेख्य सहयोग नपाएको गुनासो गरेका थिए ।

 

समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तल, नेपाल अलैंची व्यवसायी महासंघका उपाध्यक्ष इन्द्रचन्द विन्दल, नेपाल पहाडी चिया उत्पादक संघका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक संघका अध्यक्ष उत्तम श्रेष्ठलगायतले चिया तथा अलैंची क्षेत्रका समग्र वस्तुस्थितिबारे जानकारी गराउँदै यी क्षेत्रका विद्यमान समस्या र समाधानका उपायबारे प्रस्तुतिकरण दिएका थिए ।

 

उनीहरुले समितिका अध्यक्ष दाहालमार्फत सरकारलाई छुट्टाछुट्टै ज्ञापनपत्र पनि बुझाएका थिए । समितिका सदस्य सचिव भूमिराज शर्माले सञ्चालन गरेको कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषिवस्तुमा बेला–बेलामा भारतले विभिन्न वहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने औंल्याए ।

 

अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा संघीयता आएसँगै दोहोरो–तेहोरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्न गई त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने उल्लेख गरे ।

 

समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीहरुले राखेका सुझावहरुलाई सकारात्मक रुपमा लिँदै चिया, अलैंँचीलगायतका कृषिवस्तुमा कर एवम् राजश्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।