स्वास्थ्य

२५ वर्षमा मेची आँखा अस्पतालमा साडे ३० लाख जनाको उपचार

By admin

November 16, 2021

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले स्थापनाको २५औं बर्षगाँठ मनाएको छ । प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालको रुपमा स्थापित मेची आँखा अस्पतालले सोमबार प्रभातफेरी तथा शुभकामना आदानप्रदान गरी रजत जयन्ती मनाएको हो ।

 

२०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र अग्रणी अस्पतालको रुपमा स्थापित हुन पुगेको छ । २०५३ अर्थात सन् १९९६ नोभेम्बर १ देखि १५ तारिखसम्म बिर्तामोडका केही लायन्सकर्मीको पहलमा कृषिथोक बजारमा १५ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

 

शिविरमा सयौं विरामीले आँखाको परीक्षण गराउनुका साथै ४४२ जनाको निःशुल्क शल्यक्रिया गरेको मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलले स्मरण गरे ।

 

 

‘हाम्रो त्यो पहिलो आँखा शिविरमा आँखाका विरामीहरुको चाप देखेर हामी छक्क प¥यौं । स्थानीयबासी आँखाको गम्भीर रोग बोकेर बस्न बाध्य भएको देखेर हामीले शिविर सकिएलगत्तै सन् १९९६ नोभेम्बर १५ तारिखदेखि नै सञ्चालन हुनेगरी मेची आँखा अस्पताल सुरु गरेका हौं’, अध्यक्ष मित्तलले भने । करिब १२ वर्ष साविक चारपाने १ मा घर भाडामा लिएर अस्पताल सञ्चालन गरेको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए ।

 

झापामा आँखा रोगीको बढ्दो संख्या र अस्पतालमा उपचार गराउन पूर्वी नेपालसहित ठूलो संख्यामा भारतीय विरामीहरु समेत आउन थालेपछि आई केयर फाउण्डेशन नेदरल्याण्डले मेची आँखा अस्पताललाई ठूलो सहयोग गरेको थियो ।

 

२०५७ सालमा फाउण्डेशनले बिर्तामोड ३ सैनिकमोडमा ३ बिघा १७ कट्ठा ६ धुर जमिन खरिद गरी सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिदिएको हो । भवनसँगै अत्याधुनिक प्रविधिका उपकरणहरु समेत सहयोग तथा खरिद गरी जडान गरेर मेची आँखा अस्पतालले आँखाका विरामीहरुको सफल उपचार गर्दै आएको छ ।

 

रजत जयन्तीको अवसरमा अस्पतालले तयार गरेको तथ्यांकअनुसार २५ वर्षमा मेची आँखा अस्पतालले ओपीडीमार्फत ३० लाख ३७ हजार ६ २९ जनाको उपचार गरेको छ । त्यस्तै अस्पतालले ३ लाख ४३ हजार ४ ७२ जनाको आँखा शल्यक्रिया गरेको छ ।

 

दुई सय बेड संख्याको अस्पतालमा अहिले १४ जना डाक्टरसहित २१५ जना कर्मचारी कार्यरत छन् । अस्पतालको सेवा उत्कृष्ट भएकै कारण छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असाम, मणिपुर, बिहारलगायतका राज्यबाट दैनिक सयौंको संख्यामा विरामीहरु उपचारका लागि आउने गरेको डा.पुरुषोत्तम जोशीले बताए ।

 

 

कोभिड १९ को जोखिम कायमै रहेकाले रजत जयन्ती खुल्ला मञ्चमा भव्य कार्यक्रम गरी मनाउन नपाएको प्रशासन प्रमुख रौनियारले बताए । सोमबार अस्पतालका डाक्टर, पारामेडिकल तथा प्रशासनिक कर्मचारीहरुले र्याली निकाली बिर्तामोड चोक परिक्रमा गरेका थिए । त्यसपछि अस्पतालको सभाहलमा शुभकामना आदानप्रदान गरी आन्तरिक रुपमा रजत जयन्ती मनाएको रौनियारले बताए ।