खेलकुद

कतारमाथि नेपालको सानदार जित, रुविना शून्य रनमा आउट !

By admin

November 16, 2021

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।

 

जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।

 

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८-८ रन जोडिन । केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् । कतारका पाँच खेलाडी शून्य रनमा आउट भए ।

 

कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् । कविता कुँवर र सिता राना मगरले २र२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।

 

यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । महिला टोलीको यो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा कीर्तिमानी योगफल हो ।

 

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भईन् । टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।

 

यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् । कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् ।

 

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।

 

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।