राजनीति

प्रदेश १ : मुख्यमन्त्री राईले पाए विश्‍वासको मत

By admin

November 17, 2021

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट बुधबार विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो ।

 

पाँच दलीय गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसद्‍ले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

 

विपक्षमा भने एमालेका २९ सांसद्‍ले मतदान गरेका थिए। एमालेका अरु ११ र विपक्षी दल राप्रपाका १ बैठकमा अनुपस्थित थिए । प्रदेश १ मा जम्मा ९२ जना सांसद्‍मध्ये नेकपा एकीकृत समाजवादीका नेता राईलाई गठबन्धन दलका सांसद्‍हरूले समर्थन गरेका हुन् ।

 

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्ने राई दोस्रो नेता हुन् ।यसअघि वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकै नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनिसकेका छन् ।

 

भोजपुरको षडानन्द नगरपालिका झ्याँउपोखरीमा २०२७ सालमा जन्मिएका राई स्कुलमा अध्ययन गर्दा नै राजनीति सुरुवात गरेका थिए । दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बन्ने थोरै विद्यार्थी नेतामा राई पर्छन् ।

 

अनेरास्ववियुको १५औं र १६औं महाधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा २०५९ सालमा अनेरास्ववियुले गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो ।

 

आर्थिक पक्षमासमेत बिबादमा नमुछिएका नेतामा पर्छन्, राई । २०७४ सालको आमनिर्वाचनमा प्रदेशसभामा भोजपुर १ बाट निर्वाचित भएका थिए उनी । २०६८ सालमा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका राई नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

 

भदौमा नेकपा एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा राईसहितका नेताहरूले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गरेका हुन् ।