खेलकुद

‘ए’ डिभिजन लिग आजबाट, सातदोबाटो र फ्रेन्ड्स भिड्दै

By admin

November 19, 2021

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।

 

सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ ।

 

‘पहिलो पटक लिग खेल्दैछौ र टिमलाई यसको खासै ज्ञान पनि छैन । हामी लिगलाई अरुजस्तो लिदैनौ’, प्रशिक्षक केसी भन्छन्, ‘हामीले मेहनत गरेका छौ अनुभवलाई प्रयोग गरेर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ । सुरुवाती खेल सिक्ने मौका हुनेछ ।’

 

सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफुलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् ।

 

‘चुनौतीको रुपमा लिएको छु । यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । अरु खेलाडीहरुसँग अनुभव साट्ने छु । टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन्’, उनले भने ।

 

फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन । फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताए ।

 

‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैटौं सातौसम्म आउने रहेको छ’, मिश्रले भने, ‘सातदोबाटो बलियो छ, नयाँ क्लब र नयाँ जोसका साथ आएको छ ।’

 

कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन् ।

 

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् । खेलपाटीबाट