समाज

ट्याक्टर दुर्घटनामा ताप्लेजुङ र उदयपुरमा तीन जनाको मृत्यु

By admin

November 19, 2021

झापा । ताप्लेजुङ र उदयपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

 

 

ताप्लेजुङको फुङलिङ नगरपालिका ८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको वानटेस ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकदेखि अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्लाका २७ बर्षीय पुष्प बिक रहेका छन् ।

 

बिहीबार बेलुका साडे ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका बिकको उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

 

यसैगरी उदयपुरमा भएको दुर्घटनामा ट्रयाक्टर चालकसहित दुई जनाको मृत्यु भएको छ ।

 

 

उदयपुरगढी गाउँपालिका ६ दनुवारबेँसीमा आज (शुक्रबार) बिहान ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।

 

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका ९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्रयाक्टर चालक त्रियुगा नगरपालिका १० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

 

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् । तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

 

गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश २-०१-००१-त १०८३ नंको ट्रयाक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका ६ दनुवारबेँसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।